Thursday, March 3, 2011

बुद्ध धर्म र अर्थ नीति

-सबिना महर्जन
(यो लेख आषाढ पूर्णिमाको उपलक्ष्यमा श्री शाक्यसिंह परियत्ती तथा प्रौढ शिक्षालयको आयोजनामा भएको वक्तृत्व कला पर्व २०६० को अवसरमा प्रस्तुत भएको थियो । )

       भगवान् गौतम बुद्ध जसले आफुभित्र बोधिज्ञान जगाई सम्पूर्ण क्लेश नाश गरी सम्यकसम्बुद्धत्व प्राप्त गरे र लोक लाई बिमुक्तिको मार्ग सिकाए । उनले बुद्धत्व प्राप्तिपछिको जीवनकालमा दिनुभएका उपदेशहरु बौद्धानुयायीहरुका लागि जीवन–मार्गदर्शनका रुपमा रहे । उनको त्यो साँस्कृतिक क्रान्ति थियो जसले मानिसमा ब्याप्त मिथ्या दृष्टीको जरा उखेलेर एक नबिन संस्कृतिको स्थापना गर्न सफल भयो । यसै क्रममा सामाजिक जीवनधारा चलाउन सम्बद्ध एक महत्वपूर्ण पक्ष अर्थनीतिलाई बौद्ध दर्शनले कस्तो दिशा दिएको छ भन्ने कुरामा यहाँ चर्चा गरिन्छ ।

       सर्वप्रथम अर्थनीतिलाई बुझ्ने जमर्को गरौं । मानिसका अनन्त इच्छा र आवश्यकताहरु  हुन्छन् । यी इच्छा र आवश्यकताहरुको पूर्तिको लागि सीमित स्रोत तथा साधनहरु उपलब्ध हुन्छ ।  यीनै स्रोत तथा साधनहरुको उपयोग गर्ने, उपार्जन गर्ने, ब्यवस्थापन गर्ने, संग्रह गर्ने, संवर्द्धन गर्ने जस्ता क्रियाकलापहरुलाई अर्थनीति अन्तर्गत समेट्न सक्छौं । त्यसकारण अर्थनीतिलाई समाजको समग्र आर्थिक वस्तुस्थिति तथा त्यसभित्रका बिबिध पक्षहरुको अन्तरसम्वन्ध भनी परिभाषित गर्नसकिन्छ ।  अर्थनीतिका बिबिध पक्षहरुलाई बुद्धधर्म दर्शनले कसरी परिभाषित गरेको छ भन्ने बिषयमा हामी बिश्लेषण गर्ने प्रयत्न गरौं । बुद्धले समाजका चार पाङ्ग्रा  भनिएका भिक्षु–भिक्षुणी उपासक–उपासिका परस्पर अन्तरसम्वन्धित छन् । गृहत्यागी भिक्षु भिक्षुणी संघको अन्तिम लक्ष्य नै निर्वाण हुन्  त्यसकारण यीनीहरुका लागि उपदेशित प्रत्येक पाइलाहरु निर्वाण तिर लक्षित भएको हुन्छ । गृहस्थ उपासकहरु भन्नाले कुनै एक ब्यवसाय लिइ घरब्यवहार समेत चलाई सद्धर्म अभ्यासमा लागेका जमात बुझिन्छ । यस्ता गृहस्थहरुलाई दिइएको उपदेश पनि निर्वाण तिर नै लक्षित भएको हुने भएतापनि अरु बिविध ब्यावहारिकता समेतलाई समेटिएको हुन्छ ।

       यसरी भिक्षुहरुलाई दिइएको बिनय सुत्र देशना अनि गृहस्थहरुलाई दिइएको गृहस्थ उपदेशहरुको माध्यमवाट अर्थनीतिमा बौद्ध अवधारणा हामी केलाउन सक्दछौं । यस लेखमा चर्चा गरिने अर्थनीतिका केही पक्षहरु निम्न प्रकार छन् ।
१. आधारभूत आवश्यकता र इच्छा
२. उत्पादन र उपभोग
३. धनको उपादेयता र संरक्षण
४. बौद्ध आचरण र अर्थनीति

आधारभूत आवश्यकता र इच्छा
सम्पूर्ण अर्थनीतिका चालक भन्नु नै यी दुई कुरा हुन् – आवश्यकता र इच्छा । सामाजिक परिवर्तनको कालान्तरमा २५०० वर्ष अगाडीको बुद्धकालीन समाज कहाँ पुगिसके होलान् तर भगवान् बुद्धले त्यसबेला बोल्नुभएको आधारभूत आवश्यकताका कुरा चतुप्रत्यय वस्तुहरु भोजन, वास, चीवर र औषधी अझै पनि अपरिवर्तनीय छन् । भिक्षुहरुलाई दानमा यीनै वस्तुहरु दिइन्छ । अव नियालौं ‘इच्छा’ लाई । आधुनिक अर्थनीतिले समेत बिशेष महत्व दिइएको इच्छाको न शिर नै हुन्छ, न त पुच्छर । भौतिक इच्छाको वसमा मानिसहरु क्षणिक स्वप्न समान सुखको पछाडी भौतारिरहेका हुन्छन् । तर बुद्धका शिक्षाहरुमा इच्छा र इच्छाको प्रत्येवेक्षणा गर्ने र यस सम्वन्धि सत्यलाई जानी आश्रव क्षय (मयल पखाल्नु) गर्ने उपदेशहरु पाइन्छन् ।  चतुरार्य सत्यको दोस्रो आर्यसत्यमा दुःखको मूल कारण नै तृष्णा हो भनि भनिएको छ । अझ भगवानले भिक्षुहरुलाई चतुप्रत्यय वस्तुहरु प्रति समेत आसक्त नहुन भनेका छन् ।

उपार्जन र उपयोग
       भिक्षुहरुलाई चतुप्रत्यय वस्तु गृहस्थ उपासकहरुबाट प्राप्त हुन्छ । भिक्षुहरुलाई जीवन चलाउनको लागि न्यूनतम आवश्यकता पूर्तिको लागि भिक्षाटन जाने उपदेश भगवानले दिएका छन् । दान प्राप्त नभएको वखत पनि भिक्षुहरुले आवश्यक वस्तु आफैंले तयार गर्ने गर्छन् । लगाउनको लागि लुगा नभएमा फालेको कपडा भेट्टाएर आफैले धोएर रङ समेत लगाएर चीवरको रुपमा प्रयोग गर्छन् । आवश्यक औषधीको लागि बिभिन्न वनस्पति जडीवुटीहरु तथा गोमुत्रबाट बनाएर प्रयोग गर्छन् । त्यस्तै वासको लागि बिहार नभेटेमा रुखमुनि नै बिहार गर्नुपर्ने हुन्छ ।

       भिक्षुहरुले आफ्नो वस्तुको उपयोग कति सम्म गर्छन् भन्ने कुरालाई बुझ्न ‘धम्मपदठ्ठ कथा’ मा प्रस्तुत प्रसंग निकै सान्दर्भिक हुन्छ । भिक्षुहरु आफुलाई प्राप्त चीवर सम्पूर्ण भिक्षु संघलाई बाडिदिन्छन् र आफ्नो पुरानो चीवर एकदम पुरानो चीवर भएका भिक्षुहरुलाई दिन्छन् । त्यस्तै ती एकदम पुराना चीवरहरु सुत्नका लागि आछ्याउनेको रुपमा प्रयोग गर्छन् र पहिलेको पुरानो आछ्याउने कपडालाई भुईमा ओछ्याउनेको रुपमा प्रयोग गर्छन् । पुरानो भुईमा ओछ्याउने कपडा खुट्टा पुछ्नेको रुपमा प्रयोग गर्छन् र पुरानो खुट्टा पुछ्ने कपडालाई टुक्रा टुक्रा पारी माटोमा मिलाएर घर लिप्नको लागि उपयोगमा ल्याउछन् । यसरी बुद्धले भिक्षु संघलाई आत्मनिर्भर र मित्तब्ययी अर्थनीति सिकाएका छन् ।

       आधुनिक अर्थनीतिमा कुनैपनि मागको लागि उत्पादन, त्यसको बेचबिखन र अर्थउपार्जनको वारेमा मात्र ब्याख्या गरिन्छ । उदाहरणको लागि मानिसहरुले ह्वीस्की पिउने इच्छा राख्छन् र उत्पादकहरुले रक्सी उत्पादन गरिदिन्छन् । बिश्व मै राम्रो र ठूलो नाफा हुने ब्यवसायहरुमा गनिने यो मदिरा उत्पादन त कुनै कुनै देशको प्रमुख उत्पादन रहेको छ । तर त्यस उत्पादनले समाजमा के कस्तो प्रभाव हुनसक्छ, त्यसको कत्तिको बिचार गरिएको होला त ?

       थाइलाय्ण्डका श्रद्धेय भिक्षु प्रायुध पायुट्टोका  अनुसार अर्थनीति धर्ममा आधारित हुँदा कुनैपनि उत्पादन ब्यवसाय गर्दा मानिस, समाज र वातावरणमा पर्ने त्यस उत्पादनको प्रभावबारे पनि सोचिएको हुन्छ । जसरी सम्यक आजिबिकाको शिक्षामा भनिएको छ, जस्तोसुकै राम्रो नाफा हुने भएपनि अरुलाई हानी गर्ने ब्यवसाय जस्तै – जाडरक्सी बेच्ने, प्राणीहरु बेच्ने, बिष बेच्ने र हातहतियार बेच्ने काम मिथ्या आजीबिका हुन् । यी ब्यवसायवाट हुने ब्यक्तिगत नाफा समाजको लागि दीर्घकालीन अभिशाप हुनजान्छ । कुनैपनि पदार्थको उत्पादन र उपभोग अगाडी त्यसबाट पर्नसक्ने असरवारे जान्नु आवश्यक छ । पायुट्टो अगाडी लेख्नु हुन्छ – कुनै वस्तुको उत्पादन कुनै नयाँ सिर्जना नभई एक वस्तु अर्को रुपमा परिवर्तन हुनुमात्र हो । कुनै पनि हालतमा नयाँ वस्तुको उत्पादन कुनै एक वस्तुको बिनाशबिना सम्भव छैन । जसमध्ये कुनै बिनाश स्वीकार योग्य हुन्छ भने कुनै हुदैन । त्यसैले वस्तु उत्पादन पूर्व त्यसवाट पर्नजाने पर्यावरणीय, सामाजिक असरहरु वारे मूल्याङ्कन हुन जरुरी छ ।

धनको उपादेयता र संरक्षण
       गृह बिनयमा भगवान् बुद्धद्वारा उपदेशित गृहस्थ उपदेश अनुसार गृहस्थहरुले पाँच उद्देश्यले धन कमाउछन् । ऐश्वर्य भोगको लागि, आपत्तिवाट बच्नको लागि, अरुको पोषणको लागि, आदरणीयहरुको सत्कारको लागि र श्रमण ब्राह्मणको सेवाको लागि । धनको उचित उपयोग गर्ने उपायहरुमा बुद्धले भनेका छन् – कमाइएको धनलाई चार भागमा समबिभाग गर्नु, त्यसमा एक भाग खान लाउन, दुइ भाग ब्यापारमा र एक भाग आपतकालको लागि संचय गरि राख्न ।  त्यस्तै गृहस्थहरुको लागि धन चिरस्थायी राख्ने, धन नाश हुने कारणहरु समेत देशना गरी धनसंरक्षण गर्ने उपायहरु उपदेशित छन् ।

बौद्ध आचरण र अर्थनीति
    
       धर्मले सद्आचरण सिकाउँछ । यस्ता सद्आचरणले भयरहित सुरक्षित समाजको निर्माण हुन्छ । परस्पर बिश्वासी तथा कर्तब्यनिष्ठ सदस्यहरुबीचको ब्यवसाय उद्योग निकै फलोत्पादी हुन जान्छ । बौद्ध अर्थनीतिको एक प्रमुख बिशेषता भन्नु नै ‘ब्यवसाय नैतिकताको आधारमा’ ।
    
       यीनै सद्आचरणका शिक्षाहरुमा गृहस्थहरुले गर्नुपर्ने चार कुराहरु चतुसंग्रह वस्तु (दान दिनु, मीठो बोल्नु, परोपकारी काम गर्नु र अभिमान नराख्नु), मंगलसुत्रका ३८ मंगलहरु, यस्तै शील सदाचारका अरु बिषयहरुलाई प्राथमिकता दिइएका छन् ।

       अर्थनीतिका यीनै बिविध पक्षहरुको अध्ययनवाट यो बुझ्न सक्छौं कि बौद्ध अर्थनीतिको शिक्षा भन्नु नै भौतिक इच्छालाई न्यूनीकरण गर्दै सामाजिक हितको लागि धनउपार्जन गर्नु हो । महान् अर्थशास्त्री फ्रिच स्कुमेचर को भनाइ अनुसार ‘त्यो इच्छा नै हो जसले मानिसलाई गरिव तुल्याउछ । त्यसैकारण पाश्चात्य भूमिका खतराजनक साबित भएको छ ।’ दोस्रो बिश्वयुद्धपछिको बेलायत र जर्मनीको बिशाल औद्योगीकरण नीतिमा सक्रिय रहेका स्कुमेचर जव १९५५ मा वर्मा पुगी आफु बौद्ध अभ्यास थाले । त्यस बेला बोलेका बाक्यहरु हुन् यी । उनी अझ भन्छन् ‘ बर्मीहरु सादा जीवन बिताउछन्, उनीहरुका इच्छाहरुपनि थोरै मात्र छन्, त्यसैले उनीहरु सुखी छन् । ’

       बौद्ध अर्थनीतिको अर्को बिशेषता भन्नु सरलता र अहिँसा । उच्चआय र खर्च गर्नेलाई उच्चस्तरको सुखी मान्ने आधुनिक अर्थनीतिले यो कुरा कसरी स्वीकार्ला । पूँजीवादी अर्थनीतिमा त प्रमुख लक्ष भन्नु नै उच्चस्तरको जीवनयापन गर्ने, अधिकतम धन संग्रह गर्ने र यसैको आधारमा शक्ति सम्पन्न हुने हो । त्यस कारण यस्ता समाजमा नैतिकताको ब्याख्या भएतापनि गौणरुपमा मात्र हुन्छ । बौद्ध अर्थनीतिमा धनउपार्जन र उपयोगमा सधै नैतिकता जोडिएको हुन्छ, किनभने बौद्ध समाजको अन्तिम लक्ष्य भन्नु नै अनित्य, दुःख, अनात्मा लाई बोध गरि निर्वाणको साक्षात्कार गर्नु हो ।

भवतु सब्ब मंगलम् ।