Showing posts with label Buddhist Culture. Show all posts
Showing posts with label Buddhist Culture. Show all posts

Friday, January 13, 2017

उरग जातक

श्रोत :- सूत्रपिटक, अर्थ कथा, खुद्दक निकाय, उरग जातक
https://www.facebook.com/BuddhaRakkhito/posts/1223888957692595
मार्फत भन्ते बुद्धरक्खितोबाट नयाँ संस्करणमा पोष्ट गरिएको


वाराणसीमा ब्रह्मदत्तको शासन हुदा बोधिसत्व एकपल्ट ब्राहमण कुलमा जन्मिए । छोरा, छोरी जहाँन, बुहारी, दासी र आफूसहित गरि ६ जना जहाँन परिवार किसानी कर्म द्वारा जीविका भइरहेको थियो । फेरी सबैले दान गर्नु र शील पालन गर्नुको साथै मरणानुस्मृतिको भावना पनि सधै गर्ने गर्थे ।

एक दिन बोधिसत्व आफ्नो छोरा संगै खेतमा काम गरिरहेका थिए । छोराले जमिन जोत्दै थियो । खेतमा आगो पनि बालिरखेको थियो । संयोगले खेतको एउटा प्वालमा बसेको सर्पको आखामा धुँवा लाग्यो । तब रिसले चुर भएर विषधारी सर्प प्वालबाट बाहिर निस्केर आउना साथ छोरालाई डस्यो । उ भद्राक्क पल्टियो । फेरी बोधिसत्व दौडिएर आएर हेरुञ्जेल सम्म त छोरा मरी सक्यो । बोधिसत्वले मरिसकेको छोरालाई बोकेर रुख मुनि पल्टाईदिए । एउटा कपडाले छोपिदिए । फेरी संस्कारको अनित्य स्वभाव देखेर मरणानुस्मृतिको भावना गरे । बोधिसत्व न त रुए न त कराए नै । केहि समय पछी एक जना त्यस घटना थाहा नपाएको मानिस आउन साथ, बोधिसत्वले -"आज दुवैलाई भोजन ल्याउनु पर्दैन । फेरी आज दासी मात्र पठाउनु पर्दैन । सबै सेतो वस्त्र लगाएर फूल, धुप बत्तीहरु लिएर आउनु ।" भनि समाचार पठाए ।

उता यो खबर सुन्न साथ ब्राह्मणीले थाहा पाइन् -आफ्नो छोरा मर्यो । ब्राह्मणी सुसंयत चित्त भएकी भएकोले सबैलाई सफा लुगा लगाउन लगाएर फुल धुप र बत्ति लिन लगाएर सबै खेतमा पुगे । तर न कोहि रुए न कोहि कराए । सबैले मरणानुस्मृति भावना गर्दै धैर्य गरिबसे ।

उनीहरुको त्यो अतुल्य धैर्यले शक्रको आशन नै तातियो । शक्र उनीहरुको धैर्यको परिक्षा गर्न आयो । त्यस बेला ब्राह्मण आफ्नो छोराको दाहसंस्कार गरिराखेको थियो । शक्रले सोध्यो - "बाबु यो तिमीले के गरिरहेको छौं ?

-"एउटा मानिस जलाई रहेको छु ।"

-"मेरो विचारमा त तिमीले एउटा मृग पोलिरहेको जस्तै छ नि ?"

-"होइन महाशय, मानिस नै जलाईरहेको छु ।"

-"त्यसो हो भने कोहि शत्रुलाई पोलिराखेको होला, होइन ?"

-"होइन महाशय, मैले आफ्नै छोरालाई जलाई राखेको छु ।"

-"अँ त्यसो भए, त्यो पक्कै पनि मन नपर्ने खराब छोरा होला होइन ?"

-"होइन, मेरो मन परेको छोरा नै हो, प्रिय पुत्र नै हो ।"

-"होइन होला, त्यसो भए तिमि किन नरोएको त ?"

त्यस पछी ब्राह्मणले नरोएको कारण स्पष्ट पार्दै शक्रलाइ भने -

उरगोव तचं. जिण्णं, हित्वा गच्छति संतनुं ।
एवं सरिरे निब्भोगे, पेते कालकते सति ॥
डय्हमानो न जानाती ञातीनं परिदेवीतँ ॥
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

जसरि सर्पले आफ्नो काचुली छोडेर जान्छ, त्यसरी नै मनिहरुले शरीर छाडेर जान्छन भने त्यसरी नै भोगहिन शरीर मरेर जानासाथ आगोले पोली राखेको छु । पोली राखिएको मृतक छोराले म रुइरहेको छु भनि थाहा पाउँदैन । त्यसैले मैले शोक गरिन । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्र त्यस पछी ब्राह्मणी संग कुराकानी गर्दै केहि प्रश्नहरु सोध्यो। ब्राहमणी ले भनिन्-

अनब्भितो ततो आग, अननुञ्ञा इतो गतो ॥
यथा तथागतो, तत्थ का परिदेवनात ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

नबोलाइकन उ यहाँ आयो । नसोधी नै यहाँ बाट गयो । जसरि आयो त्यसरी नै गयो । त्यसैले यहाँ रुने कराउने नै किन ? जलाउदै गरेको छोराले मैले रुएको कराएको सुन्दैन । त्यसैले म रुइन । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्रले त्यस पछी बहिनी संग पनि सोध्यो । 

उनले जवाफ दिईन्-
सचे रोड़े किसा अस्सं, तस्सा मे किं फलं सिया ।
ञातिमित्ता सुहज्जानं, भियो नो अरती सिया ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

यदि मैले रोए भने म मात्र दुब्लो हुन्छु । यसले गर्दा ज्ञातिमित्रहरुले मात्र मलाई नै मन नपराउने हुन्छ । जलाउदै गरेको दाजुले म रोएको कराएको सुन्ने नै होइन । त्यसैले मैले उसको शोक गरिन । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्रले फेरी बुहारी संग पनि कुराकानी गर्दै सोध्यो - ऊ तिम्रो को हो ?"

"ऊ मेरो लोग्ने हो ।"

"लोग्ने मरेपछि महिलाहरु अनाथ नै हुन्छन् । त्यसो भएता पनि तिमि भन एक छिन पनि रुएनौ नि, किन ?"

जवाफमा बुहारीले भनिन-
यथापि दारकोचन्दं, गच्छान्तं अनुरोदति ।
एवं सम्पद मे वेतं, योपेट मनुसोचति ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

जसरि बच्चा उदाईरहेको चन्द्रमा देखेर त्यसको लागि रुन्छ, त्यसरी नै मुर्खले मात्र मरेर गइसकेको लागि रुन्छ । जलाउदै गरेको लोग्ने म रोएको कराएको सुन्ने होइन । त्यसैले मैले उसको लागि शोक नगरेकी हुँ । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्रले पछी उसको दासी संग सोध्यो पक्का पनि उसले तिमीलाई कामले दु:ख दिन्थ्यो होला । गाली पनि गर्थ्यो होला । त्यसैले तिमीले त विचार गर्यौ हौली, उ मर्यो आराम भयो भनेर । त्यसैले नरोएकी होइन ?"

दासीले भनिन् - मेरो मालिक क्षमा, मैत्री र करुणाले युक्त हुनुहुन्थ्यो । यसरी भनेर आफु नरोएको कारण दासीले शक्रलाई बताइन -
यथापि उदककुम्भो, भिन्नो अप्पटिसन्धि यो ।
एवं सम्पदमेवेतं, यो पेतुमनुसोचति ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

जसरी फुटेको माटोको गाग्रो फेरी जोड्न हुँदैन, त्यसरी नै मरिसकेको व्यक्ति फर्किएर आउँदैन । माटोको गाग्रो जोड्नको लागि रुनुमा जसरी अर्थ छैन त्यसरी नै मरिसकेको व्यक्तिको लागि रुनुको पनि केहि अर्थ छैन । जलाउदै गरिएको मेरो मालिकले मैले रोएको कराएको सुन्नु हुन्न । त्यसैले म उहाँको लागि शोक नगरेकी हुँ । उहाँको जुन गति हो त्यहि जानु भयो ।

उनीहरुको जवाफ सुनेर शक्र प्रसन्न भयो । फेरी उनीहरु लाई दान शील धर्म पालन गर्न सहयोग दिएर प्रेरणा दिएर फर्कियो ।

===================================

अन्त्यमा शाक्य मुनि बुद्धले यस जातक संग्रह गर्नुहुदै भन्नु भयो 

त्यस बेला को दासी बुद्ध कालमा खुज्जुत्त्रा भएर जन्मनु भयो

छोरी = उपलवण्ण भएर जन्म भयो

छोरा = राहुल भएर जन्मिए

आमा = खेमा

आफु ब्राह्मण चाहिं बुद्ध भएर जन्मनु भयो


काँचुली (स्रोत : उरगजातक) 
यसै जातकका सन्देशलार्इ समेटी भिक्षु सम्येक प्राणपुत्रले रचना गर्नु भएको गीत
(जोसुकै मरेपनि रुनुहुन्न भनी बुझाइएको गीत)

किन शोक गरुं मृतकप्रति ? किन रोउँ मृतकलाई सम्झी ?
जो जान्दैन दु:ख हाम्रो, न सुन्छ ऊ हाम्रो रोदन ।।

न बोलाएर कोही जन्मिन्छ, न सोधेर कोही नै मर्छ ।
सर्पले कांचुली फेरेझैं, जसरी आयो त्यसरी नै जान्छ ।।

फूटेको गाग्रो नजोडिएझैं, परलोक जाने फेरि फर्किन्न ।
चन्द्रमा नपाई रुने बालकजस्तै, मूर्ख रुन्छ मृतक सम्झेर ।।

चिन्ताले रोग बढाउंछ, विलापले पीडा जगाउँछ ।।
रुनाले कुरूप बनाउँछ, यसले हाम्रो के लाभ गर्छ ?

भवतु सब्ब मंगलम् ।

Wednesday, December 28, 2016

बाैद्ध परम्परामा अष्टमङ्गल

 तासी ल्हामोग्याल अर्थात् अष्टमङ्गल देवी


पूर्ण कलशः अाठैवटा मंगल चिन्हहरूले
सजाइएको कलश
श्री वत्स, पुण्डरिक, ध्वज, कलश, चामर, मत्स्ययुग्म, छत्र, शङ्खको संयुक्त रूपलाई (संस्कृत) अष्टमङ्गल (तिब्बती: བཀྲ་ཤིས་རྟགས་བརྒྱད་; चिनियाँ: 吉祥八宝 Jíxiáng bā bǎo) भनिन्छ| हिन्दु, जैन तथा बुद्ध धर्ममा यसको बिषेश स्थान छ| विषेशत: अष्टमङ्गलयुक्त कलशलार्इ पूर्ण कलश भनिन्छ र यसलार्इ शुभ साईत र श्रीसम्वृद्धिको प्रतिक मानिएको छ | परम्परानुसार अष्टमङ्गलका चिन्हहरूमा केही भिन्नता पनि भेटिन्छ । जस्तै नेपालको परम्परामा रहेकाे चामरको स्थानमा तिब्बती पराम्परामा धर्मचक्रको प्रयोग भएको छ । यस्तै हिन्दु र जैन परम्परामा केहि अाठ चिन्ह मध्ये केहिं चिन्हहरू फरक छन् । यी अाठ चिन्हहरूको अा-अाफ्नै प्रतिकात्मक अर्थहरू छन् । यी चिन्हहरू ध्यान साधनामा र शिक्षणमा प्रयोग हुन्छ ।

बाैद्ध परम्परामा अष्टमङ्गल
महायान वज्रयान बाैद्ध परम्परामा अष्टमङ्गल चिन्हहरूको प्रचलन विहारहरू लगायत घरघरमा तथा सार्वजनिक स्थानहरूको कलाकृतिमा समेत देख्न सकिन्छ । भगवान बुद्धले बोधिबृक्ष मुनि बोधिज्ञान लाभ भएको दिन देवलोकवाट देवताहरू अार्इ यी अाठ चिजहरू दान दिएको मानिन्छ । बाैद्ध कलामा अति प्रचलित यी चिन्हहरू अाध्यात्मिक तथा भाैतिक संबृद्धिको समेत कारकको रूपमा मानिन्छ । तसर्थ विहार तथा निजी घरहरूको मूल द्वारहरूमा यी चिन्हहरू चित्रकलामा वा काष्ठकला वा धातुकलामा अंकित गरिएको पाइन्छ । विषेशतः नव विवाहिता दम्पतिकाे, जंको गरेका जेष्ठब्यक्तिको र अन्य गण्यमान्य ब्यक्तिको स्वागत गर्न यी चिन्हहरू अंकित गरी द्वार सजाउने प्रचलन बाैद्धहरूमा प्रचलित छ । नयाँ घर निर्माण सम्पन्न पछि गरिने गृहारम्भ, गृहप्रतिष्ठा पूजा अादि अवसरहरूमा अष्टमङ्गल अंकित माला वनार्इ घरलार्इ घेर्ने परम्परा पनि अद्यापि चलिअाएको छ । नेवार बाैद्ध परम्परामा प्रत्येक शुभ अवसरहरूमा (विवाह, म्हःपूजा, घर छोडेर कतै बाहिर जाँदा अादि) सगुन दिंदा अष्टमङ्गल सम्वन्धी स्तोत्र मंगलाष्तव[३] वाचन गर्ने गरिन्छ । नेपाल वाहेक तिब्बत, भूटान, चीन र मंगोलिया अादि देशहरूमा अष्टमङ्गलको बढी प्रयोग भएको पाइन्छ । तिब्बती परम्परामा यी अाठ मंगल वस्तुहरू धारण गरेका देवी तासी ल्हामोग्याल अर्थात् अष्टमङ्गल देवीको नामले प्रसिद्ध छ ।

अष्टमङ्गलका अाठ चिन्हहरू निम्नानुसार छन् ।

  1. श्रीवत्स
  2. पुण्डरिक
  3. ध्वज
  4. कलश
  5. चामर
  6. मत्स्ययुग्म
  7. छत्र
  8. शङ्ख

यी चिन्हहरूको अर्थ विभिन्न स्रोतहरूमा विभिन्न तरिकाले गरेकाे पाइन्छ । ती मध्ये वढी प्रचलित अर्थबोधहरू निम्नानुसार छन् ।[४]
श्रीवत्स
श्रीवत्स
श्रीवत्स (संस्कृत भाषा) (अंग्रजीः The endless knot, तिब्बती: དཔལ་བེའུ་) डोरीको गाँठो वा ग्रन्थीको स्वरूपमा हुन्छ । शाब्दिक अर्थमा यसको अर्थ 'श्री' ले प्रेम गरेको भन्ने हुन्छ । 'श्री' भनेको लक्ष्मी हो र विष्णुको छातीमा लक्ष्मीको यो चिन्ह हुनुले विष्ण्र र लक्ष्मीको अगाढ प्रेम चित्रित गर्दछ । लक्ष्मी श्रीसम्पति र असल भाग्यका देवी हुनुले यो चिन्ह मंगल चिन्हको सूचीमा पर्न गएको हो । यो चिन्ह कृष्णको छातीमा पनि रहेको मानिन्छ । यस प्रकारको गाँठो वा ग्रन्थीको चिन्ह सिन्धुघाटीको सभ्यतामा भेटिएका माटाका टकहरूमा पनि भेटिएका छन् जसले यस चिन्हको प्रयोगको प्राचीनता सिद्ध गर्दछ ।

बौद्ध परम्परामा यस अनन्त गाँठोको चिन्हलार्इ भाग्यशाली चित्रका रूपमा लिइन्छ । स्वस्तिक झै अनन्त घुमिरहेको भाव यस चिन्हले समेत्ने भएकाले यसलार्इ श्रीवत्स-स्वस्तिकको रूपमा पनि मान्ने गरिन्छ । चीनमा यस चिन्हलार्इ दीर्घायु, निरन्तरता, प्रेम र सामञ्जस्यताको प्रतिकका रूपमा लिइन्छ । बौद्ध परम्परामा यसलार्इ बोधिचित्त, बुद्धको अनन्त प्रज्ञा र करूणाको प्रतिकका रूपमा लिइन्छ । अर्को अर्थमा यसलार्इ बुद्धको शिक्षा मध्येको प्रमुख प्रतित्यसमुत्पाद र अनन्त भवचक्रको रूपमा पनि लिइन्छ । बाैद्ध दर्शनमा यसलार्इ प्रज्ञा र उपायको गाँठो, शुन्यता ज्ञान र प्रतित्यसमुत्पाद ज्ञानको अविभाज्यता, धर्म दर्शन र जीवनको अन्तरसम्वन्धको प्रतिकको रूपमा प्रयोग गरिन्छ।[६] यस वाहेक यस चिन्हले संसारका प्रत्येक तत्वहरूको एक अापसमा हुने अन्तरसम्वन्धको सत्य, कार्य र कारणको सम्वन्ध, अादि र अन्त रहित नहुनु, बुद्धको अनन्त प्रज्ञा, समयसम्वन्धी भ्रमपूर्ण धारणा अादि अवघारणाहरूको समेत प्रतिनिधित्व गर्दछ ।

पुण्डरिका
पुण्डरिक (पद्म)
पुण्डरिका अर्थात् कमलको फूल (संस्कृतमा पद्म; तिब्बती: པད་མ་) काय वाक चित्तको पवित्रताको प्रतिकको रूपमा अष्टमङ्गलको दोस्रो चिन्ह कमलको फूल राखिएको हाे । धमिलो हिलोबाट उत्पत्ति भएर पनि त्यस हिलोको एक थोपा त्यसको पातमा नलाग्ने अर्थमा कलमको फूलले तृष्णा र उपादानबाट मुक्त अवस्थाको प्रतिनिधित्व गर्दछ । यस वाहेक कमल महाभिनिष्क्रमण, कुशलकर्मको संवर्द्धन अादिका पनि प्रतिक हुन् । कुनै पनि देवी देवताहरू कमलको फूल माथि वसाइनुको अर्थ त्यस देवी देवताको पवित्रता, सम्पन्नता, सम्पूर्णता झल्काउनु हो । यसलार्इ अर्को अर्थमा सबै बुद्ध बोधिसत्वहरू भवलोकमा नै उत्पन्न हुन्छन् तर तिनीहरू भवलोकका क्लेशहरू, मनो दुर्बलता र मोह अविद्याबाट टाढा रहेको हुन्छ ।
ध्वज

ध्वज
ध्वज (संस्कृत), (तिब्बती: རྒྱལ་མཚན་) - ध्वज वा झण्डा युद्धमा प्रयोग गरिने चिन्ह हो तसर्थ यसले युद्ध र विजयको प्रतिकात्मक अर्थ दिन्छ । तिब्वती परम्परामा एघार प्रकारका ध्वजहरू लेख्ने चलन छ यसले एघार प्रकारका क्लेशहरूलार्इ जित्ने ज्ञानलार्इ प्रतिनिधित्व गर्दछ । अप्सराहरूले बुनेको, बहुमूल्य हिरा ज्वाहरातको डांठ भएको, मगमग सुगन्ध भएको विजय ध्वज अज्ञानमाथिको विजय स्वरूप सुमेरू पर्वतमाथि गाडिएको ध्यान गरिन्छ । भगवान बुद्धले चार प्रकारका मारहरू (स्कन्धमार, मृत्युमार, क्लेशमार र देवपुत्र मार) माथिको विजयलार्इ इंकित गर्न पनि यस ध्वजको प्रयोग गरिन्छ ।[६] अर्को अर्थमा, बुद्ध शिक्षा संसारभरि भएको प्रसारको प्रतिकको रूपमा पनि ध्वजलार्इ लिइन्छ ।[४]

कलश
कलश
कलश (तिब्बती: གཏེར་ཆེན་པོའི་བུམ་པ་) स्वस्थ, दीर्धायु, संम्वृद्धि, ज्ञानको प्रतिक हो । जसरी कलशमा भरिपूर्ण अमृत सेवन गरी त्यो ब्यक्ति अमरत्व प्राप्त हुन्छ, त्यसरी नै बुद्ध शिक्षा अभ्यास गरी निर्वाणपद प्राप्त गरेको ब्यक्तिले अमृतपद प्राप्त गर्दछ । यो थेरवादी परम्परामा भिक्खु भिक्खुणीहरूले बोक्ने कुम्भको प्रतिक पनि हो । यस प्रकारको कलश वज्रयानी क्रियाहरूमा अभिषेक वा दिक्षा दिँदा प्रयोग गरिन्छ । सबैजसो संम्वृद्धिका देवताहरू जस्तै जम्वल, वैश्रवण, वसुन्धरा अादिको पादतलमा कलश राखिएको हुन्छ। वसुन्धरादेवीको प्रतिमालक्षणमा अाधा ढल्किएको अनन्त रत्नहरूको धारा पोखिरहेको कलशमाथि उनको पाउ राखिएको हुन्छ । यस कलशमा हुने वैभव जति सुकै झिके पनि नरित्तिने, भरिपूर्ण रइरहने प्रकारको हुन्छ । यस कलशको मुख चिन्तामणि रत्न वा तीन रत्नहरू वा कल्प वृक्षले ढाकिएको हुन्छ। संम्वृद्धि सवैतिर प्रसारण होस् भन्ने उद्देश्यले र त्यस स्थानमा विद्यमान हुने सबैखालका मनुष्य अमनुष्य सत्वलार्इ सन्तुष्टि प्राप्त होस् भन्ने उद्देश्यले घर वा मन्दिरको जग मुनि, भञ्ज्याङ्गहरू, तीर्थस्थलहरू, पानीको मूल, नदी र समुद्र अादि महत्वपूर्ण स्थानहरूमा कलश गाडिने प्रचलन छ।

चामर
धर्मचक्र

चामर
चामर चमर (याक)को पुच्छरलार्इ धातुको डांठमा जडान गरी राजाहरू वा देवीदेवताको पुजामा हम्कन प्रयोग गरिन्छ । यस प्रकारको चामर रोगग्रस्त मानिसको रोग निको पार्न वैद्यहरूले प्रयोग गरिन्छ । जसरी चामर हम्किंदा शितलता प्राप्त हुन्छ र थाकेका यात्रुहरूले केहि पाउँछ त्यसरी नै संसाररूपी अनन्त यात्रामा रहेका प्राणीहरूलार्इ बुद्ध शिक्षा अभ्यासले त्यस अनन्त यात्राबाट वाहिर निकालिदिन्छ ।

तिब्वती परम्परामा अष्टमङ्गल चिन्हहरूको समूहमा चामर प्रयोग नभर्इ धर्मचक्र प्रयोग गरिन्छ । धर्मचक्र (संस्कृत) (तिब्बती: ཆོས་ཀྱི་འཁོར་ལོ་) गाैतम बुद्धको सार धर्म र प्रथम पटक उपदेश देशना गरको महान घटनाको प्रतिकको रूपमा प्रयोग गरिन्छ ।

मत्स्ययुग्म
मत्स्ययुग्म
मत्स्ययुग्म (संस्कृत), (तिब्बती: གསེར་ཉ་[७]) गंगा जमुनाको प्रतिकको स्वरूप प्रयोग गरिन्छ । यस वाहेक यस चिन्हले चीनी परम्परामा यिङ्ग याङ्गले जस्तै दुर्इ तत्वको सन्तुलित जोडबाट प्राप्त हुने पूर्णता जनाउँछ । उदाहरणका लागि चन्द्र र सूर्य नाडी, महिला र पुरूष, दिन र रात अादि जुन एकअर्काको परिपूरक हुन्छन् । माछा अति छिटो वढ्ने प्रजाति हुनाले यसलार्इ संवृद्धिको प्रतिकका रूपमा लिइन्छ । तसर्थ यस चिन्हले उत्पादनशीलता र उर्वरता जनाउँछ । बाैद्धपरम्परामा समुद्रले प्रतिकात्मकरूपमा संसारलार्इ जनाउँछ । जसरी माछा पानीमा अानन्दपूर्वक, स्वतन्त्रपूर्वक, निर्भिकतापूर्वक तैरिन्छ वा खेल्छ, त्यसरी नै मुक्त ब्यक्तिहरू प्रशन्न र स्वच्छन्द भर्इ संसारमा बाँच्छ । यस प्रकारले यस जोडी माछाले मुक्त ब्यक्तिको महत्वपूर्ण गुणलार्इ जनाउँदछ ।

छत्र
छत्र
छत्र (संस्कृत) (तिब्बती: རིན་ཆེན་གདུགས་[१]), अर्थात् छाता सुरक्षा र प्रतिष्ठाको प्रतिकको रूपमा प्रयोग हुन्छ । जसरी छाताको प्रयोगले माैसम (घामको ताप, पानी) को प्रतिकूल प्रभाव रोक्छ त्यसरी नै सद्धर्म धारणले हानिकारक शक्तिहरू र रोगहरू बाट रक्षा गर्दछ । सद्धर्म ज्ञान उत्पन्न भए पछि यसले क्लेशको तापलार्इ रोकी शीतलता प्रदान गर्छ । सीतातपत्र देवी (सेतो छत्र) यो चिन्ह सँग सम्वन्धित देवी हुन जसलार्इ भयबाट रक्षा गर्ने देवीका रूपमा पूजिन्छ ।

छत्रको दोस्रो अर्थ सम्मान प्रतिष्ठा हो । उच्च अोहदाका ब्यक्तिहरूलार्इ अोहदानुसारको छत्र अोढाइन्छ । तसर्थ छत्रले त्यसको मुनि वस्ने ब्यक्तिको महत्व र अोहदा जनाउँछ ।

बाैद्ध परम्परामा छत्रको डाँठ गाडिक्एरको विन्दुलार्इ ब्रह्माण्डको केन्द्र विन्दु मानिन्छ र छत्रको फिजिएको माथिल्लो भागले ब्यापकता जनाउँछ । बुद्ध शिक्षाले पाएको ब्यापकता, जनजनको मन जित्न सफल भएको बुद्धको शिक्षा भएकोले बुद्धलार्इ चक्रवर्ति पदबाट पनि पूजिन्छ । तसर्थ बुद्धको चक्रवर्ति पदको प्रतिक स्वरूप पनि छत्रलार्इ लिइन्छ । चैत्य/स्तुपको गुम्वजको माथि चतुकोणाकार हर्मिका हुन्छ र त्यस माथि राखिने त्रयोदश भुवन भनिने १३ चक्का वृतहरू यहि छत्र हुन् ।

दक्षिणावर्त शंख
शंख
दाहिने धुमेको शंख (संस्कृत) (तिब्बती: དུང་དཀར་གཡས་འཁྱིལ་) ले सुमधुर, गहिरार्इ सम्म पुग्न सक्ने धर्मको ध्वनीको प्रतिक जुन ध्वनीले गहिरो अज्ञानको अवस्थाबाट ब्युँझार्इ दिन्छ। वास्तवमा शंखनाद (शंख बजाउनु) पूर्वकालहरूमा महत्त्वपूर्ण सभाहरू बोलाउनका लागि र युद्धमा अाफ्नो शक्ति र सत्ताको प्रदर्शन गर्न प्रयोग गरिन्थ्यो । यस बाहेक शंखनादले अमङ्गललार्इ हटाउने, खराव अात्माहरूको प्रभावलार्इ रोक्ने, प्राकृतिक प्रकोप हुन नदिने र हानिकारक प्राणिहरूलार्इ तर्साउँछ भन्ने मान्यता रहेको छ ।[८] बाैद्ध परम्परामा शंखलार्इ धर्मको उद्धोषणाको प्रतिकको रूपमा प्रयोग गरिन्छ । धर्म उद्धोषणा रूपी शंखनादको स्वर अपाय नरक लोक सम्म पुग्छ र नरकवासीहरूलार्इ समेत मुक्ति पदमा अाउन उत्प्रेरित गर्ने भन्ने मान्यता छ ।[९] हिन्दुमान्यतानुसार शंख भगवान विष्णुको एक हातमा धारण गर्ने वस्तु हो ।
पाद टिप्पणी[सम्पादन गर्ने]


  1. Sarat Chandra Das (1902). Tibetan-English Dictionary with Sanskrit Synonyms. Calcutta, India: mainly used in buddhismBengal Secretariat Book Depot, p.69
  2. Source: bkra-shis-rtags brgyad.
  3. मंगलास्तव, अनुच्छेद ९ श्रीवस्त पुण्डरिक ध्वजवर कलश चामर मत्स्य युग्म त्वंछत्र हेमदण्ड रविशशी उभयो दक्षिणावर्त शंख
  4. Shakya, M.B., 2000. Sacred Art of Nepal: Nepalese Paubha Paintings: Past and Present. Handicraft Association of Nepal, Kathmandu.
  5. Source: Dpal be'u
  6. Beer, R. 2003. The Handbook of Tibetan Buddhist Symbols. Serindia Publications, Inc. USA
  7. Source: gser nya
  8. http://www.buddhismgifts.com/articles-on-buddhism/meaning-buddhist-symbols/
  9. http://windhorseart.com/about-ashtamangala-info-text